ブログ

ポッドキャスト

ポッドキャスト RSS

2025年06月

2025.06.26[Thu] 09:00

【【फुकुओका म्याराथन 2025】 स्वयंसेवकको लागि आवेदन खुल्यो】

यस वर्ष पनि, नोभेम्बर ९मा फुकुओका म्याराथनआयोजना हुँदैछ।
च्युओ वार्डको तेन्जिनदेखि इतोशिमासम्म फैलिएको ४२.१९५ किमी लामो, शहर र प्रकृतिको समिश्रण भएको आकर्षक कोर्समा, जापान तथा विदेशबाट आएका धावकहरूले दौडनेछन्।

यस म्याराथनको सफल आयोजनाका लागि, हाल ३,५००जना स्वयंसेवकहरूभर्ना गरिँदैछ।
स्वयंसेवकहरूको सहयोग र उत्साहजनक हौसला, करिब१५,०००धावकहरूको ठूलो प्रेरणाबन्नेछ।

स्वयंसेवकहरूको मुख्य कार्यहरू भन्नाले, दर्ता लिने, दौड मार्गको तयारी, सामान-झोला राख्ने स्थानको व्यवस्थापन, पानी र खाना दिने स्थानमा सहयोग, दर्शक तथा धावकहरूलाई सूचना तथा मार्ग निर्देशन, भाषा अनुवादन आदि हुन्।

गतिविधि हुने मिति: नोभेम्बर ६देखि ९सम्म (४ दिनमध्ये कुनै एक दिन छान्न सकिन्छ)।

स्वयंसेवकको लागि उमेर सीमा १५ वर्ष वा सोभन्दा माथि हुनुपर्छ (तर माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई भने सहभागी हुन मिल्दैन)।
समूह वा संस्थाको रूपमा पनि सहभागी हुन सकिन्छ।

भाग लिन चाहने व्यक्तिले जापानी भाषा पढ्न र लेख्न जान्नुपर्नेछ, र पूर्व-निर्धारित अनलाइन वा स्थलमा हुने जानकारीमूलक बैठकमा अनिवार्य रूपमा सहभागी हुनुपर्नेछ।

धावकहरूलाई सहयोग र हौसला दिँदै कार्यक्रमलाई रमाइलो बनाउन सक्ने व्यक्ति, पहिले सहभागी भइसकेका वा पहिलो पटक सहभागी हुन चाहने सबैलाई स्वागत गरिन्छ!

साथै, स्वयंसेवकहरूलाई "स्वयंसेवक धावक कोटा" वा "अर्को प्रतियोगिताको सहभागिता अधिकार" पनि प्रदान गरिन्छ।

विस्तृत जानकारीका लागि कृपया फुकुओका म्याराथनको आधिकारिक वेबसाइट हेर्नुहोस्।

 

 

फुकुओका शहरको सूचना

“फुकुओका शहर राष्ट्रिय स्वास्थ्य बिमा” सम्बन्धि सूचना

 जापानमा, बिरामी पर्दा वा चोट लागेमा, कम खर्चमा निश्चिन्त भएर उपचार सेवा प्राप्त गर्नका लागि, सबै व्यक्तिहरूलाई सार्वजनिक स्वास्थ्य बिमा प्रणालीमा सामेल हुने व्यवस्था गरिएको छ। ३ महिनाभन्दा बढी समयसम्म जापानमा बस्न अनुमति प्राप्त गरेका व्यक्तिहरूले, कम्पनीको स्वास्थ्य बिमा नभएका हकमा, राष्ट्रिय स्वास्थ्य बिमा लिनु अनिवार्य छ। यो बिमा लिन, तपाईं बसोबास गरिरहनु भएको क्षेत्रको वार्ड कार्यालयमा गएर प्रक्रिया पूरा गर्नु पर्छ।

फुकुओका शहरको राष्ट्रिय स्वास्थ्य बिमा लिनुभएको व्यक्तिहरुले बिमा शुल्क तिर्नु पर्छ। बिमा शुल्क तपाईंहरूको स्वास्थ्य उपचार खर्चका लागि महत्त्वपूर्ण स्रोत हो।

 २०२५ अप्रिलदेखि २०२६ मार्चसम्मको बिमा शुल्क, गत वर्षको आम्दानी लगायतका आधारमा जुन महिनामा निर्धारण गरिएको छ। बीमा शुल्क तिर्नु पर्ने व्यक्तिहरूलाईजुन महिनाको मध्यतिर नीलो रंगको खाममार्फतभुक्तानी सूचना पत्र पठाइएको छ, कृपया जाँच गर्नुहोस्। खामभित्रको कागजमा लेखिएकोबीमा शुल्कको रकमहेरी, तोकेको म्यादभित्र भुक्तानीगर्नुहोस्।

यदि बीमा शुल्क समयमै नतिरेमा, तपाईंको सम्पत्ति जाँच गरिनेछ,बैंक खातामा रहेको बचत वा तलबसमेत रोक्का गरिन सक्नेछ, त्यसैले सावधानी अपनाउनुहोस्।

यदि कुनै कुरा बुझ्न गाह्रो भएमा, फोन मार्फत २३ वटा भाषाहरुमा परामर्श लिन सकिन्छ। फोन नम्बर ०९२-७५३-६११३ हो। 

यो नम्बरमा फोन गर्दा पहिले दोभाषे सेन्टरमा फोन लाग्छ, त्यसपछि वार्ड अफिसमा सम्पर्क हुनेछ। आफू बस्ने वार्ड अनि तपाईंले बुझ्न चाहेको कुरा भन्नुहोला।

2025.06.19[Thu] 09:00

【पोषण शिक्षाको महिना】

हरेक वर्षको जुन महिना "पोषण शिक्षाको महिना" हो र जुन १९ तारिख "पोषण शिक्षाको दिन" मानिन्छ।
स्वस्थ शरीर सही खानपानबाट निर्माण हुने भएकोले हामीले दैनिक खाने खानाको पोषण सन्तुलनलाई पुनः जाँच गर्दै, सही र सन्तुलित भोजन गर्ने बानी बसाल्न जरुरी छ।

साथै, अहिलेको समयमा मनसुन सुरु हुने हुँदा भारी वर्षाका कारण विपद् आउने सम्भावना पनि बढ्दो छ।
विपद् आएमा, सुपरमार्केट वा कन्भिनिमा खाद्यान्न पाउन गाह्रो हुन सक्छ, र पानी तथा ग्यास सेवा रोकिन सक्छ। त्यसकारण, आपतकालीन अवस्थाको तयारी स्वरूप खाद्य सामग्री सञ्चित गरेर राख्नु महत्त्वपूर्ण हुन्छ। जब जीवनयापनका साधनहरु (लजिस्टिक वा लाइफलाइन) रोकिन्छन्, पुनः सञ्चालनमा आउन कम्तीमा ३ दिन लाग्न सक्छ। त्यसैले "परिवारका सदस्यहरूको संख्यालाई ३ दिनले गुणा गरेर" खाद्यान्न सञ्चय गर्नु उपयुक्त हुन्छ।

सञ्चयको सजिलो उपायहरुमा; दैनिक रूपमा प्रयोग हुने सामानहरू थोरै बढी किनेर राख्ने, म्याद सकिन लागेका खाद्य वस्तुहरू पहिला उपभोग गर्ने, र उपभोग गरेको परिमाण अनुसार पुनः किनेर राख्ने अभ्यास (रोटेशन स्टक विधि)अपनाउनु सरल र सस्तो विकल्प हो।

त्यस्तै, विपद् बेला खानपानमा ध्यान दिनुपर्ने कुराहरु जस्तै कि, भात वा पाउरोटीजस्ता कार्बोहाइड्रेटमा मात्र भर पर्ने सम्भावना हुनाले प्रोटिन, भिटामिन, र फाइबरको कमी हुनसक्छ। त्यसैले, माछा, मासु, सिमीजन्य क्यान खाद्य, गाजर, प्याजजस्ता लामो समय टिक्ने तरकारीहरू पनि सञ्चय गर्न उपयुक्त हुन्छ। लामो समय टिक्ने, कोठाको तापक्रममा राख्न मिल्ने र पोषण सन्तुलन मिल्ने खाद्य वस्तुहरूरोजौं।

दैनिक जीवनमै विपद् सचेतना राखौं र आफ्नै क्षमताभित्र रहेर तयारी गरौं।

 

 

 

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना

शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा “याराना हिरोबा

तपाईँहरु आफ्ना बच्चासँग रमाइलो समय बिताउन मिल्ने ठाउँको खोजीमा हुनुहुन्छ भने,

हाकाता वार्डमा रहेको नाराया सामुदायिक केन्द्रमाहरेक महिना आमाबुबा र बच्चाहरुले रमाइलो समय बिताउन सक्ने "शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा" (याराना हिरोबा) सञ्चालन भइरहेको छ।

जुन महिनामा यो कार्यक्रम२४ तारिक मंगलबारहुनेछ। 

समय बिहान१०:३० देखि ११:३० सम्महो।

कार्यक्रमको विषयबस्तु "अभिभावक-बच्चाखेल!"रहेको छ। शिशुलाई काखमा राखेर गीत गाउने, चित्रकथा पढ्ने जस्ता गतिविधिहरू गर्दै, अभिभावक र बच्चाबीचको आत्मीय सम्बन्ध बढाउने खेल खेलिन्छ। खुला र फराकिलो ठाउँमा, घरभन्दा फरक प्रकारका रमाइला खेलहरू खेल्ने अवसर प्रदान गरिन्छ।

आवेदन विधि र विस्तृत जानकारीको लागि, कृपया फुकुओकासिटीइन्टरनेशनलफाउण्डेसनको फेसबुकमा हेर्नुहोस्।

 

 

विदेशी मूलका बालबालिकाहरूका लागि शैक्षिक र करियर परामर्श कार्यक्रम २०२५

 

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेनमा, “NPOफुकुओका कम्युनिटी लिभिङ टुगेदर, फुकुओका YWCA”,“Fukuoka International Residents Association” सँगको सहकार्यमा, "विदेशी मूलका बालबालिकाहरूका लागि शैक्षिक र करियर परामर्श कार्यक्रम २०२५" आयोजना हुने भएको छ।

यस परामर्श कार्यक्रममा, विदेशी मूलका बालबालिकाहरूका लागि प्रिस्कूलरदेखि हाई स्कूल सम्मको शैक्षिक परामर्श दिईन्छ। यस अतिरिक्त, अध्यागमन ब्यूरो र प्रशासनिक कानूनी सल्लाहकारहरूद्वारा बसोबास सम्बन्धी परामर्श पनि लिन सक्नुहुन्छ।

परामर्श नि:शुल्क छ, तर अग्रिम बुकिङ आवश्यक छ

जापानी, अंग्रेजी र चाइनिज, भियतनामी, नेपाली भाषामा परामर्श उपलब्ध छन्।

कार्यक्रम हुने दिन: जुलाई १२, शनिबार दिउँसो १:०० देखि

आयोजना स्थल: हाकाता वार्डको तेन्यामाचीमा स्थित फुकुओका सिटी इन्टरनेशनल सेन्टर

बुकिङ  तथा सोधपुछको लागि, “NPOफुकुओका कम्युनिटी लिभिङ टुगेदरको वेबसाइटमा हेर्नुहोला।

2025.06.12[Thu] 09:00

【फुकुओका नागरिक अर्केस्ट्रा】

के तपाईंहरूलाई शास्त्रीय संगीत मन पर्छ?
आउँदो आइतवार, जुन १५ मा, फुकुओका शहरको तेनजिनस्थित "अक्रोस फुकुओका सिम्फोनी हल" मा [फुकुओका नागरिक अर्केस्ट्रा] को नियमित कन्सर्ट आयोजना हुन गईरहेको छ।

फुकुओका नागरिक अर्केस्ट्रा सन् १९७२ मा स्थापना भई, 'नागरिकले माया गर्ने अर्केस्ट्रा' बन्ने लक्ष्यसहित सक्रिय संगीत प्रस्तुतिहरू गर्दै आएको एउटा अमेचर अर्केस्ट्रा हो।
यसमा मुख्यत: कामकाजी व्यक्तिहरू, विद्यार्थीहरू, तथा गृहिणीहरू समेत विभिन्न पृष्ठभूमिका करिब १०० सदस्यहरु छन्। उनीहरूले हरेक हप्ता शनिबार अभ्यास गर्छन्, र वर्षमा दुई पटक नियमित कन्सर्टका साथै विभिन्न कार्यक्रमहरूमा प्रस्तुति दिन्छन्।

यस पटकको कार्यक्रममा सिबेलियसद्वारा रचित 'सिम्फोनिक कविता – वसन्तको गीत', 'सिम्फोनी नम्बर ५, इ-फ्ल्याट मेजर', तथा मेन्डेलसोनद्वारा रचित 'नाटक संगीत –ग्रीष्म रातको सपना, ओपस ६१ बाट अंशहरु' समावेश गरिनेछ।
त्यसैगरी, प्रस्तुति सुरु हुनुअघि लोबी कन्सर्ट र निर्देशकद्वारा विशेष वार्ता पनि आयोजना गरिनेछ।

कार्यक्रम, अक्रोस फुकुओका सिम्फोनी हलमा जुन १५ (आइतवार), हल खुल्ने समय दिउँसो १ बजे, कार्यक्रम शुरु दिउँसो २ बजे। 

टिकट शुल्क, साधारण दर्शक – १,५०० येन र विद्यार्थी (प्राथमिकदेखि विश्वविद्यालय तहसम्म) – ५०० येन हो।

यो अवसरलाई नछुटाउनुहोस्—शास्त्रीय संगीतको आनन्द लिनुहोस्!

 

 

फुकुओका शहरको सूचना

कर सम्बन्धि

जनवरी १ देखि फुकुओकामा बस्दै आउनुभएको व्यक्तिको यदि अघिल्लो वर्षको आय १० लाख नाघेको भएमा फुकुओका प्रान्तको कर तिर्नु पर्ने हुन सक्दछ।

जुन १५ तिर कर तिर्न सूचना आउन सक्ने भएकोले, अवश्य पनि खामभित्रको ध्यानपूर्वक पढ्नुहोला।

तिर्नुपर्ने म्याद र शुल्क लेखिएको हुन्छ। कोन्भिनी, बैंक वा हुलाक मार्फत तिर्नुहोला।

स्मार्टफोन भुक्तानी वा क्रेडिट कार्डबाट पनि तिर्न सकिन्छ। 

त्यस्तै, कम्पनीमा कार्यरत व्यक्तिहरुको हकमा, कर सीधै तलबबाट कटौती हुन सक्छ।

शहरी कर तिर्नु भएन भने, तपाईंको निवास कार्डको नविकरण गर्नमा समस्या पर्नुका साथै तपाईंको सम्पत्ति फुकुओका शहरले जफत गर्ने सम्भावना हुन सक्दछ।

नबुझेको कुरा भएमा वा कर तिर्न गाह्रो भएमा, वार्ड अफिसको काउन्टरमा परामर्श लिनु होला।

२३ वटा भाषाहरुमा, फोनमार्फत् परामर्श लिन सक्नुहुन्छ। 

फोन नम्बर, ०९२-७५३-६११३ हो।

यो नम्बरबाट, शुरुमा दोभाषे सेन्टरमा फोन लाग्छ, त्यसपछि वार्ड अफिसमा सम्पर्क हुनेछ।

तपाईंले कुरा गर्ने भाषा, बस्ने वार्ड अनि करबारे तपाईंले बुझ्न चाहेको कुरा भन्नुहोला।

2025.06.05[Thu] 09:00

【हाकोजाकिगु आजिसाई महोत्सव】

वसन्तदेखि गर्मी तिर मौसम परिवर्तन हुने यस समयमा, प्रायः वर्षा र बादल लाग्ने दिनहरू देखापर्ने ‘चुयु’ भन्ने वर्षा ऋतु सुरु हुन्छ। फुकुओकामा चुयु प्रायः जूनको शुरुमा शुरु भई जुलाईको मध्यतिर समाप्त हुन्छ। यस चुयुको समयमा रमाइलो लिन सकिने मौसमी फूल भनेको हो, “आजिसाई”।

यो फूल सुरुमा हल्का रंगको भएर फुल्न थाल्छ, र समयसँगै यसको रंग गाढा बन्दै जान्छ। साथै, माटोको अम्लीयता (pH) अनुसार यसको रंग पनि परिवर्तन हुन्छ। सेतो, नीलो, गुलाबी, बैजनी रंगका जीवन्त आजिसाईहरू बाटो छेउछाउ र फूलबारीमा पनि फुल्ने भएकाले, अलिक बाहिर जान गाह्रो लाग्ने चुयुको समयमा बाहिर निस्कँदा पनि मन प्रसन्न बनाउँछ।

फुकुओका शहरभित्र आजिसाई हेर्न सकिने धेरै रमणीय स्थानहरू छन्। तेनजिनबाट पनि नजिकै रहेको “मैजुरु पार्क”, “फुकुओका सिटी म्युजियम” को पछाडिको हरियाली क्षेत्र वा “बोटान शाकुयाकु बगैँचा” को प्रवेशद्वार विशेष गरी हिँडडुल गर्ने मार्गका लागि उपयुक्त छ।

“फुकुओका सिटी बोटानिकल गार्डेन” मा केवल आजिसाई मात्र होइन, ग्रीनहाउसमा विभिन्न प्रजातिका वनस्पतिहरू पनि अवलोकन गर्न सकिन्छ, जसले गर्दा वर्षाको दिनमा पनि आरामसँग वनस्पति अध्ययनको मजा लिन सकिन्छ।

त्यस्तै, पूर्व क्षेत्रको “उमिनो नाखामिचि समुन्द्री किनार पार्क” वा पश्चिम क्षेत्रको “नोकोनोशिमा आइल्यान्ड पार्क” मा फराकिलो क्षेत्रमा रंगीन आजिसाईहरू हेर्न सकिन्छ।

साथै, पूर्व क्षेत्रमा रहेको “हाकोजाकिगु” मा, जून महिनाभरि ‘हाकोजाकिगु आजिसाई महोत्सव’ आयोजना गरिन्छ। त्यहाँको करिब १,७०० चुबो (झन्डै ५,६०० वर्ग मिटर) क्षेत्रफलमा फैलिएको “आजिसाई बगैँचा” मा झन्डै १०० प्रजातिका ३,५०० वटा आजिसाईका बिरुवाहरू फुल्छन्। पूजा गर्नुअघि हातमुख धुने पानीमा सजाइएका आजिसाई पनि छुटाउन नहुने दृश्यहरू मध्ये एक हो।

जापानको चुयु मौसममा झनै सुन्दर देखिने आजिसाई फूलहरूले तपाईंको मनमा शान्ति ल्याओस्।

 

 

फुकुओका शहरको सूचना

चुयु र भारी वर्षा सम्बन्धि

जापानमा जुनदेखि जुलाईसम्मलाई  "चुयु" अर्थात् वर्षा ऋतु भनिन्छ र यस अवधिमा भारी वर्षा हुने गर्दछ। भारी वर्षाको कारण प्रकोपहरू हुने सम्भावना भएकोले ध्यान दिनुहोला। 

हालैका वर्षहरूमा पनि, वर्षाको मौसममा रेकर्ड-ब्रेक भारी वर्षाको कारणले, फुकुओका प्रान्तमा पनि धेरै क्षति पुर्याएको थियो। भारी वर्षा हुँदा, नदी, तट वा पहाड नजिकको चट्टानहरू जस्ता खतराजनक ठाउँहरू नजिक नजानुहोस् र आफ्नो जीवन रक्षाको लागि कदम चाल्नुहोस्।

फुकुओका सिटिको होमपेजमा Hazard map र विपद् रोकथाम सम्बन्धि जानकारी प्राप्त गर्न सक्नुहुन्छ। आफू बस्ने क्षेत्रमा हुन सक्ने सम्भावित खतरा र आश्रय स्थलमा जाने सुरक्षित तरिका आदिको बारेमा अग्रिम जानकारी राख्ने गरौँ। बिस्तृत जानकारी, ‘Fukuoka City Multilingual Portal’ भनि खोजि, साईगाईको पेजमा हेर्नुहोला। 

फुकुओका शहरको महत्वपूर्ण जानकारीहरु, फुकुओका सिटिको आधिकारिक Facebook ‘Global Community Fukuoka’ वा फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको Facebook ‘फुकुओका शी कोकुसाई खाईखान्/ आत्ताखा फुकुओका「福岡市国際会館/あったか福岡」बाट पनि बहुभाषामा प्राप्त गर्न सक्नुहुन्छI पेजलाई follow गरेर, सामान्यदेखि महत्वपूर्ण जानकारीहरु लिनु होला।

<< previous next >>

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ

OSZAR »